अरनिको र मदनहरु

 

आज पनि हजारौ अरनिकोहरु

खाडीका तातो बालुवामा

आफ्नो पसिना मिसाउदै

उठाई रहेछन गगन चुम्बी भवनहरु

आफ्नी प्यारी मुनालाई

सुनै सुनले सजाउने सपना बोक्दै

आज पनि ठुलो जहाज चढि रहेछन हजारौ मदनहरु

खै कहिले रोकिएला

काठमाडौंको खाल्डोमा बसेर

अरनिकोका गौरव गाथा

मदनका हृदय विदारक कथाहरु

लेखि रहने यो अविरल चक्र

 

परिवर्तन हुन्छ भन्थे

हो ठुलै परिवर्तन भएको

हिजो अरनिको मदनका आमाहरु

बिदाईमै भक्कानो छुटाएर रुन्थे

मन हलुंगो बनाउथे

आज हाँसि हाँसी बिदाई गर्छन् 

मुस्कुराई रहन्छन् भिड भाडमा 

तर एकान्त खोज्दै तडपि रहेछन् निर्धक्क रुनलाई

 

दशैको टिका निधारमा टाँस्दै

भाग्यमानी भएस् छोरा भनेर

शिरमा हात नराखेको बर्षौ भएछ

आफैले बनाएको दाल भात 

स्वराप स्वराप पार्दै छोराले खाएको त्यो आवाज

सपना हो की झै लाग्दो रहेछ

त्यही आवाज सम्झदै आनन्दले निदाउने आमालाई

अचेल खासै निद्रा पर्दैन

खान लाउन केही दुःख छैन

सबै छोराले पुर्याएकै

 

तर पनि बारीको डिलमा बसेर

टोलाई रहन्छीन गोधुली साँझमा

कहिले डुब्दै गरेको घाम हेर्दै

आफ्नो उमेर सम्झीन्छीन

कहिले दोबाटो हेर्दै छोरा सम्झीन्छीन

 

सिन्धुपाल्चोकका अरनिको दाजुले

साउदीमा आएको तीनै बर्षमा 

साहुका लागि हेर्दा टोपि खस्ने घर बनाउनु भो

भुकम्पले ढालेको एक तले आफ्ने घर अझै उठेको छैन

 

बर्षौ देखि सुनको गाडीमा चढ्ने

शेखलाई सुरक्षा दिदै आएका चितवनका मदनदाई

आफ्नै घर छेउमा आठ बर्षकी छोरी बलात्कृत भएको समाचार पढेर अचेत हुनु हुन्छ  

 

कहिले काही एक्लै भएको बेला

बाथरुममा छिर्छु

एक तमासले एैनामा आफनै प्रतिविम्ब हेर्छु

सोध्छु आफैसँग

मदन कहिलेसम्म भौतारिन्छ सपना खोज्दै यो दलदलमा ?

अरनिको कहिलेसम्म पसिना चुहाउछस यो बालुवामा

आफ्नी आमालाई घरमा राखेर तलतलमा

- मोहन बस्याल, हाल युएई


फेसबुकबाट तपाईको प्रतिक्रिया