फलैंचा: विदेशमा उद्धार संयन्त्रको प्रभावकारीता कति ? 

काठमाडौं - नेपालबाट बैदेशिक रोजगारीमा हरेक बर्ष ५ लाखको हाराहारीमा जाने गरेको देखिएको छ । यो सरकारी तथ्याँकमा समेटिएकाहरुको संख्या हो । त्यो संख्यामा नअटाउने अरु केहि हजार भारतको बाटो भएर जान्छन् । विशेष गरी नेपालले जान रोकेकाहरु र रोकेका देश जानेहरु त्यसरी छिमेकी देश भएर जाने गरेका हुन् ।  

बैदेशिक रोजगार केहि बर्षयता नेपालमा अर्थतन्त्रको मेरुदण्ड भएको छ । देशको कुल बजेटकै हाराहारी विदेशबाट नेपालीले कमाएर पठाउने रकमका कारण बैदेशिक रोजगारीको महत्वलाई धेरै प्रष्ट्याइरहनु पर्दैन । 

तर जति उपलव्धी छन् बैदेशिक रोजगारीबाट, यसबाट सिर्जित समस्या कम छैनन् । तिनै मध्येको एक हो विदेशमा नेपालीलाई आइपर्ने समस्या । र, समस्या पछि उनीहरुको उद्धार । यहि विषयमा सेण्टर फर माइग्रेसन एण्ड ईण्टरनेशनल रिलेसन(सिएमआइआर) तथा देशपरदेश डटकम ले यहि हप्ता काठमाडौंमा एउटा छलफल कार्यक्रमको आयोजना गरे । छलफलको सुरुमा कतारमा विगत झण्डै २० बर्षदेखि आप्रवासी फिलिपिनो कामदारको अधिकारका लागि काम गर्दै आएका काविले आफ्नो अनुभव सुनाएका थिए । त्यसपछि कार्यक्रमका अन्य सहभागिहरुले आफ्नो अनुभव, विचार राखेका थिए । प्रस्तुत छ सो छलफलका सहभागिहरुले व्यक्त गरेका महत्वपूर्ण अंशहरुः

 

 

कावि

कतारमा मैले मुख्यगरी फिलिपिनो कामदारहरुलाई परिआएका समस्या सुल्झाउन मद्धत गर्दै आएको छु । अन्य देशका नागरिकलाई पनि अप्ठ्यारो पर्दा सहयोग गर्न तत्पर हुन्छु । मेरो अनुभवमा समस्यामा परेका व्यक्तिले उति धेरै उजुरी गर्दैनन् र मुद्धा मामिलाको झण्झटमा पर्न चाहँदैनन् । अर्कातिर उनीहरुलाई भाषाको समस्या पनि पर्ने गर्दछ । 

हामी जेलमा परेका फिलिपिनोका बारेमा जानकारी संकलन गर्छौं र उनीहरुलाई मद्धत गर्न कतार स्थीत हाम्रो दुतावासलाई आग्रह गर्छौं । हाम्रो दुतावासमा भएका कर्मचारीले यो सवै काम गर्न सम्भव छैन, किनकी कतारमा कार्यरत फिलिपिनो कामदारको तुलनामा हाम्रो दुतावासमा कर्मचारी थोरै छन् । त्यो स्थीतिमा हामी उनीहरुलाई आवश्यक मद्धत गर्छौं । कतिपय अवस्थामा हामी खानेकुरा समेत उपलव्ध गराउँछौं । 

कतारमा कुनै कामदार अन्याय परेर त्यसको विरुद्धमा प्रहरीमा उजुरी गर्न जान खोज्यो भनें उल्टै रोजगारदाताले त्यस्ता व्यक्ति विरुद्ध भागेको अभियोगमा प्रहरीमा उजुरी गरिसकेको हुन्छ । कामदार प्रहरी कार्यालय खोज्दै जाउञ्जेलसम्ममा रोजगारदाताले त्यस्तो व्यक्ति विरुद्ध उजुरी गरिसकेको हुन्छ । त्यसैले प्रहरीलाई उजुरी गर्न जाँदा समेत त्यसरी अन्यायमा परेका व्यक्ति पक्राउ परेर जेल हालिएका छन् । त्यसैले मेरो सुझाव पहिले प्रहरी, मानवअधिकार आयोग वा अन्य सरकारी कार्यालयमा जानु हुन्न, सुरुमा गएर श्रम अदालतमा लिखित मुद्धा हालिहाल्नु पर्छ । त्यसो भएमा प्रहरीले पनि समात्न सक्दैन । प्रहरीले समात्न खोजेमा मेरो मुद्धा अदालतमा छ भनेर कागज देखाएर बच्न सकिन्छ । हामी हाम्रा नागरिकलाई त्यहि जानकारी दिनेगर्छौं । 

अर्को कुरा कतारमा काम गर्न जानु अघि नै आफ्ना देशका नागरिकलाई त्यहाँको कानूनका बारेमा जानकारी दिने गर्नुपर्छ । नेपालले के गर्छ मलाई थाहा छैन, तर फिलिपिन्सले त्यसो गर्छ । तर पनि सवैकुरा कामदारलाई थाहा हुन्न । त्यसैले हामी कतारमै पनि यो जानकारी हाम्रा नागरिकलाई दिने गर्छौं । 

मुख्य कुरा कतारमा श्रम सम्झौता गर्दा कामदारले ध्यान दिनुपर्छ । त्यो अरविकमा वा केहि अंग्रेजीमा लेखिएको हुन सक्छ । श्रम सम्झौतामा हस्ताक्षर गरिसकेपछि त्यहि अनुसारको काम गर्नुपर्छ र अधिकार पनि हुन्छ कामदारको । त्यसैले सकेसम्म श्रम सम्झौताको एक प्रति आफूले राख्नुपर्छ । 

विदेशमा गइसकेपछि त्यहाँ आफ्नो देशका विभिन्न सामाजिक संस्था हुन्छन् । त्यसैले एक्लै बस्नुहुन्न, त्यस्ता सामाजिक संस्थाको सदस्य बनिहाल्नु पर्छ । उनीहरुसँग भेटघाट गरिरहनु पर्छ । यसले परदेशमा हुँदा सजिलो हुन्छ । 

मुख्य कुरा समस्यामा परेका व्यक्तिका पक्षमा बोलिदिने, उसलाई ढाडस दिने व्यक्तिको ठूलो खाँचो हुनेगर्छ । त्यसैले आफ्ना देशका कोहि व्यक्ति समस्यामा छन् भनें, कानूनी प्रकृयामा सघाउने आफ्नै देशको कोहि व्यक्ति हुनु जरुरी छ । 

कुलप्रसाद कार्की, अध्यक्ष प्रवासी नेपाली समन्वय समिति(पिएनसीसी) 

नेपालबाट कामदार पठाउँदा नै उनीहरुका अधिकार वञ्चित गरेर पठाउने गरेका छौं । जवसम्म आप्रवासी कामदारले मतदानको अधिकार पाउँदैनन् उनीहरुका बारेमा सरकारमा बस्नेहरुको उतिधेरै चासो र चिन्ता हुनेछैन । त्यसैले आप्रवासी कामदारको मतदानको अधिकारलाई सुनिश्चित गर्न लागिपर्नु पर्छ । 

अर्को कुरा कतार, साउदी लगायतका देशमा उद्धार सहज काम होइन । त्यो अत्यन्तै जोखिमपूर्ण काम हो र धेरै असुरक्षाका बीच हाम्रा प्रतिनिधिहरुले त्यो काम कतार र मलेसियामा गरिरहेका छन् । कतार र मलेसियामा हाम्रा प्रतिनिधिहरुले भोगिरहेका चुनौती फरक छन् । कतारमा सरकारी निकायबाट जतिसुकै बेला पनि फसाइन सक्ने खतरा छ भनें मलेसियामा जतिबेला सुकै जोसुकैले अक्रमण गर्न सक्ने खतरा । तर त्यो जोखिमका बीच पनि हाम्रा साथिहरुले उद्धारको काम गरिरहनु भएको छ । 

त्यसैले उद्धारको काममा राज्यको ध्यान जान जरुरी छ । यसमा दुतावासले नै गम्भीरतापूर्वक काम गर्नुपर्छ । अहिलेसम्म हाम्रा प्रतिनिधिहरुले समस्यामा परेका व्यक्तिलाई दुतावाससम्म पुर्याउने काम गर्दै आएका छन् । 

अन्य देशमा भन्दा अझ धेरै समस्या साउदीमा छ । तर त्यहाँ काम गर्नसक्ने अवस्था नै छैन । त्यसैले यसमा हाम्रो सरकारले गम्भीर रुपमा ध्यान दिन जरुरी छ । 

निलाम्वर बडाल, माइग्रेण्ट्स सेण्टर

मुख्य कुरा त स्वदेशमा नै रोजगारीको व्यवस्था गरिनुपर्दछ । यदि त्यो गर्न सकिन्न भनें विदेशमा आइपर्ने समस्यामा उद्धारका लागि राज्य नै संवेदनशील हुनु पर्छ र प्रभावकारी रुपमा काम गर्नुपर्छ । त्यसका लागि सरकारी प्रतिनिधिहरु राखिनु जरुरी छ । यदि दुतावासहरु मार्फत नै उद्धारको कामलाई हेर्ने हो भनें त्यो अवस्थामा धेरै सहज हुन्छ । गैरसरकारी संस्थाहरुले त्यसमा सघाउने हो । 

कोरियाको सन्दर्भमा कुरा गर्दा कोरियामा पीडित कामदारका लागि उद्धारको कुरामा त्यति धेरै समस्या छैन कतार, साउदी वा मलेसियाको तुलनामा । हालै आप्रवासी कामदारहरुले पनि ट्रेड यूनियन खोल्न पाउने अधिकार प्राप्त गरेपछि अझ सजिलो भएको छ । 

मेरो विचारमा जवसम्म स्वदेशमा नै हामी पर्याप्त सुधार गर्न सक्दैनौं तवसम्म विदेशमा आइपर्ने समस्या र त्यसपछिको उद्धारको कुरा गरेर मात्र धेरै परिवर्तन हुन्न । म्यानपावर कम्पनीहरुले ल्याउने मागका बारेमा गाउँमा काम गर्ने एजेण्टले नै सही सुचना नपाउने अवस्था छ, त्यो अवस्थामा उनीहरुले बैदेशिक रोजगारीमा जानेहरुले के सुचित गर्छन् ? तलव वा सुविधाका बारेमा स्वयं एजेण्टहरुलाई नै थाहा हुन्न । उनीहरुले पनि केवल अन्दाजका भरमा बोल्ने हो । 

अहिले सरकारले निःशुल्क भिषा र टिकटमा मात्र कामदार पठाउँछौं भनेको छ । के त्यो कार्यान्वयन भएको छ त ? छैन । निःशुल्कका नाममा धेरै रकम तिरेर गइरहेकाहरुलाई हामीले के भन्ने ? त्यसैले सुधार गर्नुपर्ने कुरा पहिले मुलुकभित्रै छन् । 

कतार होस् वा अन्य कुनै देश, त्यहाँ आइपर्ने समस्या समाधानका लागि कामदार पठाउने देश एक्लैले लडेर सम्भव छैन । त्यसका लागि नेपाल, भारत र बंगलादेश मिलेर अघि बढ्दा राम्रो हुन्छ । र, त्यसमा फिलिपिन्स जस्तो अलिक व्यवस्थीत रुपमा कामदार पठाउने देशलाई पनि समेटेर अघि बढ्यौं भनें बैदेशिक रोजगारी र उद्धार लगायतका काम प्रभावकारी हुनसक्छन् । 

कुन्दन गुरुङ, पौरखी 

हामी नेपालमा सरकारसँग र विदेशमा नेपाली दुतावासहरुसँग मिलेर उद्धारको काममा संलग्न छौं । हामीले विदेशमा अप्ठ्यारोमा परेको विशेषगरी महिला कामदारलाई उद्धार तथा सहयोग गर्ने गर्दछौं । 

विदेशमा समस्यामा पारिएका कामदार मध्ये कतिपयले कम्पनीबाट क्षतिपूर्ति पाउँदैनन् । विशेषगरी खाडीका देशमा घरेलु काम गर्न गएका महिलाले त्यो प्रकारको क्षतिपूर्ति पाइरहेका छैनन् । उनीहरुलाई उद्धार गरेर नेपाल फर्काउन नै धेरै ठूलो समस्या छ । 

विदेशमा काम गर्न गएका धेरैजसो कामदारलाई आफ्नो दुतावास कहाँ छ भन्ने नै थाहा हुन्न । त्यो सवै कुरा नेपालबाट सिकाएर पठाउनु पर्ने हो तर दुर्भाग्य नेपालमा अभिमुखिकरण तालिम सञ्चालन गर्ने संस्थाहरुबाट कामदारले त्यो जानकारी पाउनसक्ने अवस्था नै छैन । किनकी अभिमुखिकरण तालिमको प्रमाणपत्र खरिद गर्न पाइन्छ । त्यसैले नेपाली कामदारमा जानकारीको अभाव छ । यतिसम्मकी समस्यामा परेर नेपाल फर्केका व्यक्तिलाई जस्तो मृत्यु भएमा वा अंगभंग भएमा सरकारी निकायबाट क्षतिपूर्ति पाइन्छ भन्ने समेत उनीहरुलाई वा परिवारका सदस्यलाई जानकारी हुन्न । 

त्यसैले उद्धारको कुरा त छँदैछ, नेपालमै कामदारलाई सुसुचित गर्न बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रभावकारी भूमिका खेल्नु पर्दछ । 

लक्ष्मण खनाल, नेपाल बैदेशिक रोजगार प्रतिनिधि एजेण्ट एशोसिएसन 

हाल बैदेशिक रोजगारीमा जाने नेपाली मध्ये ९५ प्रतिशत एजेण्टको माध्यमबाट गइरहेका छन् । त्यसरी पठाइएका व्यक्ति विदेशमा समस्यामा परेमा नेपाल फर्काउनु पर्यो भनेर सवैभन्दा पहिले एजेण्टलाई नै खवर गर्ने गर्दछन् । 

हामीले पठाएका व्यक्ति त्यसरी अप्ठ्यारोमा परेमा हामी सम्वन्धित म्यानपावर कम्पनीलाई खवर गर्दछौं । पहिलो त उनीहरु नै हो । किनकी हामीले सिधै काम गर्न सक्दैनौं । म्यानपावर कम्पनीले दुतावाससँग समन्वय गरी त्यो कुरालाई अगाडी बढाउने गरेका छन् । कतिपय अवस्थामा म्यानपावर कम्पनीले चासो नदिएमा हामी बैदेशिक रोजगार विभाग वा विदेशमा दुतावासमा पनि सम्पर्क गर्ने गर्दछौं । यसरी अप्ठ्यारोमा परेका व्यक्तिलाई नेपाल झिकाउने गरिएको छ । 

चर्चित ढुँगेल, पत्रकार (उनी कतारमा चार बर्ष रोजगारी गरी फर्केका हुन्) 

समस्या नेपालमा पनि छ र उता पुगेपछि पनि छ । नक्कली मागपत्र, नक्कली सम्झौता जस्ता कुरा नेपालमा हुँदाका मुख्य समस्या हुन् । विदेश पुगिसकेपछि भनेको तलव नदिने, भनेको काममा नलगाउने, समयमा तलव नदिने, तातो घाममा लगातार काम गर्दा पानी समेत पिउन समय नदिने जस्ता समस्या छन् । 

विहान ३ वा ४ बजे पकाएको खाना दिउँसो १२ बजे खाएर काम गर्नु अधिकाँश नेपाली लगायत कामदारको बाध्यता हो । त्यो अवस्थामा कति समस्या हुन्छ होला हामी सहजै अनुमान गर्न सक्छौं । घरेलु कामदारको त कुरागरी साध्य छैन । कुनै कानूनले नै नछोएपछि ति व्यक्तिका बारेमा त कसले बोलिदिन्छ र ? बन्द कोठामा जेसुकै पनि हुनसक्छ, जस्तो सुकै अत्याचार खेप्नुपर्छ । 

हाल कतारमा श्रम कानूनमा सुधारको हल्ला चलाइएको छ । तर त्यहाँ कुनै ठुलो परिवर्तन हुँदैछैन । पुरानै कुरालाई यताउति मिलाउन खोजिएको मात्र हो । त्यसैले त्यसबाट ठूलो अपेक्षा नराख्दा हुन्छ ।

हाम्रो सरकार बलियो रुपमा प्रस्तुत नभएसम्म नेपाली कामदारले कतारमा समस्या भोगि नै रहनेछन् । समस्या पर्दा लेवर डेस्कमा जान्छौं हामी, हाम्रो कुरा नै सुनुवाई हुन्न । त्यसैले उद्धारलाई प्रभावकारी बनाउने हो भनें सरकार नै अघि सर्नुपर्छ ।  

(यो छलफल सिएमआइआर र देशपरदेशले आयोजना गरेका हुन् । फलैंचा देशपरदेशको सामाजिक विषयमा बहस गर्ने स्तम्भ हो । यसमा हामी सीप र सुरक्षित बैदेशिक रोजगारसँग सम्वन्धित विषयमा बहस, छलफल गर्ने गर्छौं । तपाई पनि यहि विषयमा काम गरिरहनु भएको छ भनें हामी साझेदारीका लागि तत्पर छौं ।-सम्पादक) 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया