म्यानपावर व्यवसायीलाई बैदेशिक रोजगार विज्ञ बनाएर लैजाँदै सरकार 

काठमाडौं- आप्रवासी कामदारका विषयमा श्रीलंकामा आयोजित दुई दिने ‘अबुधावी डाइलग (कामदार मगाउने र पठाउने एसियाली राष्ट्रहरुको एक क्षेत्रीय सम्मेलन)’मा नेपालले समान काममा पनि कामदारहरुबीच  तलब र सेवा सुविधामा भएको अन्तर र त्यसलाई हटाउने विषय उठाउने भएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा सोमबार र मंगलबार (जनवरी २३ र २४) अबुधावी डाइलग हुँदैछ ।

नेपालबाट सहभागी हुने श्रम राज्य मन्त्री दिलीप खवास गच्छेदार नेतृत्वको टोलीले कामदारहरुबीचको असमानता उठाउने बताएको हो । ‘एकै प्रकृतिको काममा भएको तलब अन्तर, पीडित कामदारको सहज उद्धार जस्ता विषयलाई उठाउँछौं,’ गच्छदारले भने, ‘सम्मेलन र साइड लाइन मिटिङहरुमा मैले यिनै विषयमा जोड दिन्छु ।’ अहिले नेपालीको ठूलो रोजगार गन्तव्य खाडीका देशहरुमा अन्य देशका कामदारको तुलनामा अधिकांश नेपालीको तलब र सेवा सुविधा कम छ ।

संयुक्त अरब इमिरेष्ट (युइए)को राजधानी अबुधावीबाट २००८ देखि सुरु भएको ‘आबुधाबी डाइलग’ सम्मेलनमा कामदार पठाउने ११ राष्ट्र, मगाउने ७ राष्ट्र र केही राष्ट्र पर्यवेक्षकको रुपमा सहभागी हुन्छन् । आबुधाबीबाट सुरु भएकोले यसलाई आबुधाबी डाइलग भनिँदै आएको छ, जसको सुरुवात कामदार मगाउने राष्ट्रहरुले गरेका थिए । 

सम्मेलनको पहिलो दिन वरिष्ठ अधिकारीहरुको बैठक र दोस्रो दिन श्रम मन्त्रीस्तरीय परामर्श बैठक हुँदैछ । आप्रवासी कामदारको भर्ना प्रक्रिया, कामदारलाई सूचना तथा अभिमुखीकरण, कामदार पठाउने र  मगाउने राष्ट्रबीचको करिडोर (मार्ग), आप्रवासी कामदारको लागत खर्च घटाउने, सुरक्षा लगायत विषय सम्मेलनमा उठ्ने छन् । ‘आप्रवासी कामदारको सुरक्षा र हक हितका विविध विषयहरु उठ्छन्,’ श्रम मन्त्रालयका उपसचिव शिवराम पोखरेलले भने, ‘कामदार पठाउने र मगाउने राष्ट्र एकै ठाउँमा हुँदा छलफल महत्वपूर्ण हुन्छ ।’

सम्मेलनमा अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले तयार गरेको भारत–युइए तथा नेपाल–युएईबीचको प्रवासन प्रक्रिया, खर्च लगायत विषयक अध्ययन रिपोर्ट छलफल, प्रवासनमा प्रविधिको प्रयोग, सीप परीक्षण पत्र लगायतका श्रम रोजगारका विषयमा छलफल हुनेछ । 

आबुधाबी डाइलगमा कामदार मगाउने राष्ट्रहरुमा मध्यपूर्व खाडीका ६ राष्ट्र (युएइ, कतार, साउदी अरब, ओमन, बहराइन र कुवेत) र यमन तथा पठाउने राष्ट्र अफगानिस्तान, बंगलादेश, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम सदस्य राष्ट्र छन् । 

नेपाली टोलीका प्रमुखमा राज्यमन्त्री गच्छेदार र सदस्यहरुमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे, श्रम मन्त्रालयका उपसचिव पोखरेल, श्रम राज्यमन्त्रीका सल्लाहकार हरिकुमार लम्साल र वैदेशिक रोजगार व्यवसायी हंशराज वाग्ले छन् । सबै श्रम मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्दैछन् । 

राज्यमन्त्री गच्छेदारले वाग्लेलाई ‘अन्तराष्ट्रिय श्रम विज्ञ’ को रुपमा लैजान लागे पनि वैदेशिक रोजगार व्यवसायीको रुपमा लैजान लागेको दाबी गरेका छन् । ‘वाग्लेजी वैदेशिक रोजगार व्यवसायीकै रुपमा र ट्रेड युनियनमा समेत लागेकोले लम्साललाई सल्लाहकारको रुपमा लैजान लागेको हुँ,’ गच्छेदारले भने, ‘प्रक्रियामात्र श्रम मन्त्रालयको हो, खर्च उहाँहरुले आफैं गर्नुहुन्छ ।’ 

वाग्लेले व्यवसायी संघबाट जान खोजे पनि प्रतिनिधित्वको पत्र नदिएकोले मन्त्रालयको तर्फबाट श्रम विज्ञको रुपमा जान लागेको स्वीकारेका छन् । वाग्ले वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हुन् ।

यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्मीले लेखेका हुन्

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय