पर्यटन क्षेत्रका श्रमिकलाई चिनियाँ भाषा तालिम

 

कास्की, भदौ २४-

नेपाल ट्रेकिङट्राभल्सर्याफ्टिङएयरलाइन्स, पुरातात्विकसंस्कृति, कार्गोकुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकीले पर्यटन क्षेत्रमा कार्यरत मजदुुरलाई एकमहिने चिनियाँ भाषाको निःशुल्क तालिम प्रदान गरेको छ ।

नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर तालिम प्रदान गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताए ।

चिनियाँ पर्यटकले अङ्ग्रेजी भाषा नबोल्ने तथा नेपाली पथप्रदर्शकले उनीहरुको भाषा नबुझ्दा समस्या आइरहेको अवस्थामा अब पर्यटकसँग आफूहरु ढुक्कसँग कुराकानी गर्न सक्षम भएको तालिममा सहभागी विपिनराज सापकोटाको भनाइ छ ।

नेपालमा वार्षिक दुई लाख चिनियाँ पर्यटक नेपाल आउने तथ्याङ्क छ । नेपाल आएकामध्ये ९० प्रतिशत पर्यटकले पोखराको भ्रमण गर्ने गरेको दाबी पर्यटन व्यवसायीको छ । नेपालमा पथप्रदर्शक तथा सहयोगी गरी १२ हजार मजदुर पर्यटन क्षेत्रमा क्रियाशील रहेको युनिट्राभले जनाएको छ ।

गत साउन १८ गतेदेखि शुरु भएको तालिममा आधारभूतमा ३५ र एडभान्समा २५ जना गरी ६० जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई दिनेश गौतमले चिनियाँ भाषाको प्रशिक्षण दिएका थिए ।

तालिम समापन समारोहमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन क्षेत्रलाई आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि सरकारले पर्यटन विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिए । देशको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र रहेको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न विश्वविद्यालय अनिवार्य रहेको बताए । रासस

 


फेसबुकबाट तपाईको प्रतिक्रिया